कवि गणेश राईले सोमबार मण्डला थिएटरमा युद्धसम्बन्धी कविताहरु सुनाइरहँदा लाग्थ्यो, एकासी एमएमका सेलहरु हामीमाथि खसिरहेछन् । नाटक घरको कलात्मक मञ्चमा एकल कविता वाचनको एसल्टटमा उनी एक्लो योद्धा भने थिएनन् । चिन्डो बुक्सद्वारा आयोजित एकल कविता वाचनमा कवि प्रकाश थाम्सुहाङ र शकुन्तला जोशीले उनलाई कविता फायरीङमा सपोर्ट गरेका थिए । प्रकाश थाम्सुहाङले युद्ध च्याप्टरको दैलो ‘म देश दुखिरहेछु’ शिर्षकको कविताबाट उघारेपछि ‘एम्बुसमा चुँडिएको गोर्खाली जीवन’, रिक्रुइट सिम्फोनी’, ‘आमालाई चिठि’, ‘म मरेको दिन’, ‘नोवेम्बर एघार’, ‘जाडो र मान्छे’ शिर्षकका कविता गणेशले सस्वर वाचन गरेका थिए । उनले कविता मात्र सुनाएनन् । युद्धका पीडादायिक कहानी पनि सुनाए । बन्दुक समाइरहेका हातहरुले कलम समाउनुका कारण खुलाउँदै उनले भने ‘हामी गोर्खालीहरुले लडेका युद्धलाई कथा मात्रै बनाइयो । यो लिपिवद्ध कहिल्यै भएन । यसो हुनुमा कारण छ । योद्धाहरु अशिक्षित हुनु । तर, अब कसैले हाम्रो कहानी नलेखे पनि हामी आँफै लेख्ने छौं । दोस्रो विश्वयुद्धयता लेख्न सुरु भएको छ ।’ उनीहरु साहित्य लेखनमा लाग्नुको अर्को घच्चिको कारण पनि सुनाए, ‘हामी युद्ध साहित्यलाई अंग्रेजी साहित्यसम्म पु¥याउन चाहन्छौं ।’ फकल्याण्डको युद्धमा बन्दुकको ट्रिगर दबाइरहँदा उनले युद्धको रुपलाई अझ नजिकबाट नियाल्ने अवसर पाए । सायद त्यसैले ‘युद्धको रुप’ शिर्षकमा कविता लेखे । उक्त कविता शकुन्तला जोशीले सुनाएपछि युद्धलाई बिसाएर गणेश अन्य कविताहरुको च्याप्टरतर्फ लागे । यस च्याप्टरमा उनले ‘अब्दुल्ला कुर्दिस’, ‘आदिम सौन्दर्य’, ‘श्रद्धा तुहिएको साँझ’, ‘अनुहार बदलिएको लन्डन र ज्याक स्मिथहरु’ र ‘अनुहार खोसिएका अनुहारहरु’ शिर्षकका कविता श्रवण गराएका थिए । कार्यक्रमको अन्त्यमा प्राज्ञ कवि श्रवण मुकारुङले गणेशका कविता सुनिसकेपछि भने, ‘गणेश राईलाई युद्ध साहित्यका सिद्धान्तभन्दा पर पुग्दा पनि एउटा पूर्ण लेखकका रुपमा पाउन सकिन्छ । कवि भनेको स्टोरी टेलर रहेछ । इतिहासकार, असल आलोचक, असल समाजशास्त्री, असल संगीतकार सबै रहेछ कवि ।’ त्यसपछि नेपालका आदिवासीहरुले लेखेका साहित्य युद्धभन्दा पृथक नरहेको भन्दै उनले भने, ‘गणेश राईको भाषा चाहिँ एलीट छ । उहाँको लेखनमा लाहुरेका केही शब्द त छन्, तर त्यो लाहुरेकै भाषा भने होइन ।’ लाहुरे संस्कारसँग आफूहरु पनि जोडिएको भन्दै श्रवणले दाबी गरे ‘हामी पनि युद्ध साहित्यका अंशियार हौं ।’ -
|